पशुपतिनाथको प्रवेश र सुरक्षामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
काठमाडौँ— विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप व्यवस्थित गर्दै सुरक्षा तथा अनुगमन प्रणाली कडाइ गर्न माग गरेको छ ।
परिषद्को मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत पशुपतिनाथ मन्दिरको गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा परम्परादेखि हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको स्मरण गराएको हो ।
परिषद्का अनुसार उक्त व्यवस्था कुनै समुदायप्रति विभेद गर्ने उद्देश्यले नभई मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको हो ।
तर, पछिल्लो समय सार्वजनिक भएको एउटा भिडियोमा मन्दिरको निर्धारित प्रवेश व्यवस्थाभन्दा फरक दृश्य देखिएको भन्दै परिषद्ले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परिषद्ले नेपालको संविधानले धार्मिक स्वतन्त्रता सुनिश्चित गर्नुका साथै सबै धर्म र समुदायप्रति सम्मानको व्यवस्था गरेको उल्लेख गर्दै धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा प्रचलित नियम तथा परम्परा उल्लङ्घन गर्ने अधिकार नभएको जनाएको छ ।
यस्ता घटनाले पशुपति क्षेत्र विकास कोषको सुरक्षा, अनुगमन तथा व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएको परिषद्को दाबी छ ।
घटना दोहोरिन नदिन परिषद्ले मन्दिरको प्रवेश व्यवस्थालाई प्रभावकारी बनाउन, सुरक्षा तथा अनुगमन प्रणाली कडा पार्न र दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्न माग गरेको छ ।