भ्रष्टाचारीलाई कांग्रेसमा ठाउँ छैन – महामन्त्री थापा – Nepalboli

भ्रष्टाचारीलाई कांग्रेसमा ठाउँ छैन – महामन्त्री थापा

   १६ भाद्र २०८०, शनिबार  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका कारण नै जनतामा निराशा छाइरहेको बताउनुभएको छ। एकले अर्काको काण्ड देखाउने भन्दै तर्साउने कार्यले जनता आजित भएको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो।

शनिबार झापाको धुलाबारीमा नेपाली कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै थापाले जनतामा निराशाबाट आशामा जोगाउनका लागि नेपाली कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताउनुभयो। ‘‘भ्रष्टाचार र बेथितिका कारण निराश बनेका जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ’’, उहाँले भन्नुभयो।

थापाले जतिपनि भ्रष्टाचारका प्रकरण भएका छन् त्यसको एउटारएउटाको छानबिन हुनुपर्ने आफूहरूको धारणा रहेको बताउनुभयो। ‘‘गिरीबन्धु टी स्टेट, सुन काण्डलगायतका सबै प्रकरणको निष्पक्ष छानबिनको पक्षमा हामी छौँ’’, उहाँले भन्नुभयो।

एकले अर्काको काण्डको विषयमा सार्वजनिक रूपमा नै पोल खोल्छु भन्दै हिँड्ने नेताको उहाँले आलोचना गर्नुभयो।

‘‘निर्दोष कोही पनि नपरोस् र दोषी मेरो पार्टी होस् या अरूको पार्टी कोही पनि छुट्नु हुँदैन’’, महामन्त्री थापाले भन्नुभयो। ‘‘नेपाली कांग्रेसको नेता होस यो कार्यकर्ता होस्। भ्रष्टाचार तथा अपराधमा मुछिएको छ भने त्यसलाई जोगाउनु हुन्न। हाम्रो पार्टीले समेत जोगाउँदैन’’, उहाँले भन्नुभयो। नेपालको संविधानले दण्डनीय भनेका कार्यहरू गर्नेलाई कांग्रेस भित्र छुट नहुने उहाँको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै