प्रधानमन्त्री प्रचण्डद्धारा पुर्वप्रम तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बचाउ
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको बचाउ गरेका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने— माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखेँ । पहिलोपटक उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।
सीआईबीले बयान लिएको र निर्दोष साबित भएकाले मुद्दा चलाउन नपर्ने भनेर लिखितरूपमा दिएको प्रचण्डको दाबी छ । “माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो । अब त्यो स्थिति रहेन,” उनले भने ।
ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता भन्दै उनको नाम आएको थियो । पूर्वप्रधानमन्त्री नेपालको उनकै निवास पुगेर सीआईबीले सोधपुछ गरेको थियो । अहिले सीआईबीले प्रतिवेदनसमेत बुझाइसकेको छ । प्रतिवेदनमा नेपाल र अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि मुद्दा चलाउन नपरेको उल्लेख छ ।