एमसीसीको व्याख्यात्मक घोषणामा सहमत रहेको अमेरिकाको प्रस्टोक्ती

अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) व्याख्यात्मक घोषणासँग सहमत रहेको बताएको छ । एमसीसी कार्यान्वयनमा जान लागेको अघिल्लो दिन मंगलबार वक्तव्य जारी गर्दै अमेरिकाले व्याख्यात्मक घोषणामा सहमत रहेको बताएको हो । नेपालको संघीय संसद्को प्रतिनिधि सभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो । सोही दिन बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले अनुमोदनको स्वागत गरेको थियो ।
नेपालमा बुधबारदेखि एमसीसी कार्यान्वयनमा जाँदैछ । त्यसअघि नेपालमा भइरहेको टीकाटिप्पणीलाई मध्यनजर गरेर अमेरिकी दूतावासले वक्तव्यमार्फत मंगलबार प्रतिक्रिया दिएको हो ।
‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरुसम्बन्धी हाम्रो बुझाईसँग व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ,’ दूतावास वक्तव्य जारी गर्दै भनेको छ ।
नेपालको संसद्बाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि त्यसलाई लिएर स्वागत गरिसकेको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलवार साझ नेपाल आइपुगेका छन् । बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । त्यसैका लागि अलफोर्ड आज नेपाल आइपुगेका हुन् ।
सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ ।
यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन् ।