प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागिताको तयारी तीव्र – Nepalboli

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागिताको तयारी तीव्र

   २०८० भाद्र ११, सोमबार  

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपाल सरकारको सहभागिता बलियो बनाउन तीव्र गृहकार्य भइरहेको छ । महासभा अन्तर्गत हुने विभिन्न सत्रमा प्रस्तुत गरिने कार्यसूची अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाल सरकारको प्रतिनिधिमण्डल यही भदौ ३० गते महासभामा सहभागी हुने छ ।

कोभिड महामारीपछि झन्डै चार वर्षको अन्तरालमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल महासभामा सहभागी हुन लागेको हो । महासभाको उद्घाटन सत्रसहित अन्य विभिन्न सत्रहरूमा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका तर्फबाट सम्बोधन गर्नुहुने छ ।

ज्वलन्त वैश्विक विषयहरूमा नेपालले यसपल्ट बलियो धारणा विश्वसमक्ष राख्नेगरी कार्यसूचीका विषयहरू तय गरिएको मन्त्रालयका उच्चाधिकारीहरूले जानकारी दिनुभएको छ । कार्यसूचीसँगै प्रधानमन्त्रीसँग नेपालको प्रतिनिधिमण्डलमा सहभागी हुने व्यक्तिहरूको सूची तयार पार्ने काम पनि मन्त्रालयले एकसाथ गरिरहेको प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

उहाँका अनुसार महासभाको महत्वपूर्ण कार्यक्रममा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । मन्त्रालयले दिएको जानकारी अनुसार विगत केही वर्षयता उठिरहेको सदाबहार विषयहरूसँगै कोभिड महामारीपछिको पुनरुत्थानका लागि आयोजना हुने नयाँ सत्रहरू यस पटक महत्त्वपूर्ण छन् । जस अनुसार सङ्घले तय गरेका कार्यक्रम अन्तर्गत रहेका दिगो विकासका लक्ष्यमा नेपालको प्रगति, जलवायु एम्बिसन सम्मेलन, महामारी पूर्वतयारी, फाइनान्सिङ डेभलपमेन्ट, विश्वव्यापी स्वास्थ्य अवस्था, नेपाल अध्यक्ष रहेको अति कम विकसित मुलुक समूहको बैठकसहितका झन्डै १६ वटा कार्यक्रममा नेपालले सहभागिता जनाउने छ ।

उहाँले भन्नुभयो, “कुन कार्यक्रममा कसले नेतृत्व गर्ने भन्ने विषयमा गृहकार्य चलिरहेको छ, कुनै प्रधानमन्त्रीको र कुनै मन्त्रीस्तरीय नेतृत्वमा हुने छ ।” मन्त्रालयले जनाएअनुसार असोज १ गतेदेखि विभिन्न सत्रमा नेपालको सक्रिय सहभागिता रहने छ । प्रधानमन्त्री प्रचण्डले असोज ३ गते महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको छ । प्रधानमन्त्री महासभामा सहभागी भएलगत्तै उतैबाट चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै