विपद्‍ पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन – Nepalboli

विपद्‍ पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

   २०८२ चैत्र १५, आईतवार  

गृहमन्त्री सुधन गुरुङले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । आइतबार प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आगामी मनसुनमा विपद्का कारण कसैले पनि ज्यान गुमाउन नपर्ने गरी पूर्वतयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताउनुभयो ।

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पेस गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभयो । नेपालमा भूकम्प, बाढीपहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइ अन्त्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

उहाँले भन्नुभयो, “हामीले विपद् व्यवस्थापनको सन्दर्भमा मैदान (फिल्ड) मै काम गर्न थालेको १० वर्ष भइसक्यो । देशमा जुनसुकै विपद् आउँदा हामी नपुगेको कुनै पनि ठाउँ छैन । विगतमा पनि जहाँ अप्ठ्यारो पर्‍यो, हामी त्यहाँ पुगेका छौँ । अब त्यसको समाधान गर्ने हैसियत बनाएर आएको छु जस्तो लाग्छ ।” उहाँले अगाडि भन्नुभयो, “विपद् प्रतिकार्य र व्यवस्थापनका लागि हाम्रो तयारी जहिले पनि ढिलो हुन्थ्यो । आज मैले प्राधिकरणसँग के प्रस्ताव राखेको छु भने विपद् व्यवस्थापनका लागि कम्तीमा पनि क्याम्पस तहसम्म व्यावहारिक शिक्षा भइदियो भने दक्ष जनशक्ति तयार हुन सक्छ । प्राथमिक उपचार मात्रै दिन सकियो भने पनि धेरैको ज्यान बचाउन सकिन्छ । त्यसैले यस्ता कुरा पाठ्यक्रममै राख्नुपर्छ र सोही अनुसार शिक्षा मन्त्रालयमा प्रस्ताव जान्छ ।”

गृहमन्त्री गुरुङले मनसुन आउनुभन्दा अगाडि नै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीलाई कार्यक्षेत्रमा खटाउन र अभ्यास तथा तालिमलाई तीव्रता दिन निर्देशन दिनुभयो । उहाँले जोखिमयुक्त क्षेत्रमा अहिलेदेखि नै सतर्क रहन निर्देशन दिँदै विपद्का कारण अबदेखि कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ काम गर्न आग्रह गर्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै