जनप्रतिनिधिहरुको संलग्नतामा नक्कली आमा बनाएर जग्गा जफत
![](https://www.nepalboli.com/wp-content/uploads/2023/08/6E35381C4B5A518-halsabik.jpg)
मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् । यो घटनामा कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको पनि संलग्नता रहेको खुलेको छ । जग्गामा रकम हाल्ने भारतीय नागरिकको जाहेरीपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्षसहित २१ जनाविरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा नै दायर गरेको छ ।
घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए । यस कार्यमा मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जनको सहयोग रहेको छ ।
काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटको कित्ता नम्बर २०३ को ९९२ वर्गमिटर अर्थात् एक रोपनी १५ आना जग्गा गुरुङले आफ्नो नाममा गरेको पाइएको हो ।
भारतीय नागरिक एमसी परेराले उक्त जग्गा किनेर राख्नु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार भारतीय नागरिक परेराले श्रीमती बनाएका उमादेवी गुरुङको नाममा जग्गा किन्नुभएको थियो । उनीहरूका सन्तान थिएनन् ।
“भारतीय नागरिकले सीधै जग्गा किन नमिल्ने भएपछि उमादेवी गुरुङको नाममा जग्गा किनिएछ । उमादेवी गुरुङको निधनपछि उनको नाममा भएको जग्गालाई मकवानपुर थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा बनाएर किर्ते कागज बनाई आफ्नो नाममा लिएको पाइयोको छ ।
त्यसका लागि भरतपुर महानगरपालिका वडा नम्बर–१९ बाट उमादेवीको मृत्यु दर्ता प्रमाणपत्र बनाएको पाइएको छ । मृतक गुरुङका आफन्त नभएपछि स्वतः राज्यको हुनुपर्नेमा सतराज गुरुङले उमादेवीको चितवनमा मृत्यु दर्ता गराएर आफ्नो नाममा राखेको पाएको प्रहरी अधिकारील्े बताएका छन ।
सतराजले उक्त जग्गा आफ्नो नाममा किर्ते गरेर लिएको थाहा भएपछि भारतीय नागरिक परेराले उमादेवी मेरी श्रीमती रहेको भनी प्रहरीमा उजुरी दिएपछि सबै घटना सार्वजनिक भएको हो ।
सतराज गुरुङका नाममा जग्गा नामसारी गराउन सहयोग गर्ने दुई वडाध्यक्षसहित २१ जनाको नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भइसकेको छ । मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष महर्जनसहितका नाममा पक्राउ पुर्जी जारी भएको हो । भारतीय नागरिक परेराले उजुरी दिएलगत्तै सतराज गुरुङ भने पक्राउ परेका छन् भने स्याङ्तान र महर्जन फरार रहेको प्रहरीले जनाएको छ । सतराजको नागरिकतासहित जग्गा खरिदमा सहयोग गर्ने दुई वडाध्यक्षसहित थाहा नगरका १२ जना स्थानीयवासी र कीर्तिपुर–१० का छ जना स्थानीयवासीसहित मालपोत कार्यालय कलङ्कीका खरिदार सुदीप ढकाललाई पक्राउ पुर्जी जारी गरिएको छ ।