मधेशको राजधानीबाट कांग्रेसले ल्यायो चुनावी प्रतिज्ञापत्र – Nepalboli

मधेशको राजधानीबाट कांग्रेसले ल्यायो चुनावी प्रतिज्ञापत्र

   २०८२ फाल्गुन ६, बुधबार  

नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

सभापति थापाको प्रमुख आतिथ्यमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा गरेर कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । आगामी निर्वाचनलाई लक्षित गरी ल्याइएको उक्त प्रतिज्ञापत्रमा मधेशको समृद्धि, समावेशिता र आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिइएको छ ।

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १० बुँदे ‘भिजन’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल र मधेश प्रदेशका सभापतिसहितका नेताको उपस्थितिमा जनकपुरधाम सभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञापत्रका १० बुँदा

-सम्मानित भएर बाँच्न पाउने नेपाल

– सपना देख्न सक्ने नेपाल

– सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल

– पेटभरि खुवाउने र देशलाई चिनाउने किसानको नेपाल

– ओखती र ओत दिने नेपाल

– छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

– बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

– मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

– विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

– समुन्नतिमा लम्किने नेपाल

अब विश्वासको मत चाहिन्छ -थापा

कांग्रेसका सभापति थापाले देशको अवस्था बदल्ने स्पष्ट सोच र दृढ सङ्कल्पका साथ पार्टी निर्वाचनमा होमिएको बताउदै कांग्रेसलाई भोट मात्र नभई विश्वास दिन सबैमा आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “भोट त सधैँ पाएकै हो, अब विश्वास चाहियो ।”

सभापति थापाले मधेसबाट मधेसकै प्रतिनिधित्व गर्दै चुनावमा होमिएको उल्लेख गर्दै आफू मधेसको नेता मात्र नभई ‘बेटा’ बनेर अघि बढेको बताउनुभयो। उहाँले कांग्रेस नै देश बनाउने शक्ति भएको दाबी गर्दै विगतमा पार्टीले परिवर्तनका निम्ति गरेका काम र बलिदानको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “महेन्द्रनारायण निधिजस्ता अग्रज नेताहरूको सपना पूरा गर्न मधेस आएको हुँ।”

मधेसप्रतिको भावनात्मक सम्बन्ध व्यक्त गर्दै थापाले सहिद दुर्गानन्द झालाई आफ्नो छातीमा राखेको बताउनुभयो। “मधेसी आमाको रगत मेरो शरीरमा नभए पनि सहिद दुर्गानन्द झा मेरो छातीमा हुनुहुन्छ,” उहाँले भन्नुभयो। मधेस र कांग्रेसको सम्बन्ध सामान्य नरहेको उल्लेख गर्दै आगामी पाँच वर्षलाई स्वर्णिम बनाउने सङ्कल्पका साथ आफू आएको उहाँको दाबी थियो।

त्यसैगरी, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदातालाई कसले जित्छ भन्नेभन्दा पनि कसले देश सम्हाल्न सक्छ भन्ने आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नुभयो। उहाँले देशको नेतृत्व सक्षम र जिम्मेवार हातमा सुम्पिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

अर्का उपसभापति पुष्पा भुसालले ‘अबकी बार गगन सरकार’ भन्ने मूल मन्त्रका साथ पार्टी निर्वाचनमा होमिएको बताउनुभयो। सो कार्यक्रममा मधेसका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, केन्द्रीय तथा प्रदेश तहका नेता र कार्यकर्ताहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै