टीकापुर घटनामा मारिएका बालकको सालिक रेशम चौधरीद्धारा अनावरण

थरुहट /थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ । टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषि ठहर भइ अदालतले जन्मकैदको फैसला सुनाए पनि राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउदको सालिक अनावरण गरेका हुन् ।
टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।
सालिकको रेशमलालसहित नाउपाकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउदका बाजे जंग साउद र बुवा आमाले संयुक्त रूपमा अनावरण गरे । सालिक अनावरण गर्दै नाउपाका संरक्षक रेशमलालले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउद आफ्नो पनि बच्चा भएको बताए ।
साउदका बुवा नेत्रलाई अंकमाल गर्दै चौधरीले अझै पनि आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने धारणा राखेका थिए । टीकापुरमा टाढाबाट ढुंगा हानेर सद्भाव खलबल्याउने काम भइरहेको आरोप पनि उनको थियो ।
८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नाबालक साउद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो ।