साउनमा नेपाल बाट भारत ८७ लाखको गोलभेंडा निर्यात – Nepalboli

साउनमा नेपाल बाट भारत ८७ लाखको गोलभेंडा निर्यात

   २०८० भाद्र ७, बिहीबार  

चालु आर्थिक वर्षको साउनमा ८७ लाख रुपैयाँको गोलभेडा नेपाल बाट भारत निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा ६ लाख ७० हजार ५ सय २० केजी गोलभेंडा निर्यात गर्दा ८७ लाख ३० हजार रुपैयाँ भित्रिएको छ । ‘मूल्य नपाएर असारमा गोलभेंडा फाल्नुपर्ने अवस्था थियो, तर साउनमा भारत निर्यात गरेर किसानले राम्रो मूल्य पाए,’ गोलभेंडा व्यवसायी सामर्थ ढुंगानाले भने, ‘जेठ र असारको घाटा केही रिकभर भएको छ ।’

ढुंगानाले बिचौलियामार्फत ४६ हजार किलो गोलभेंडा भारत पठाएको बताए । उनका अनुसार नेपाली किसानले सिधै भारतमा निर्यात गर्न सक्दैनन् । भन्सार नाकामा हुने बिचौलियामार्फत भारत पठाउने गरेका छन् । ‘किसानले नाकामा रहेको व्यापारीलाई बेच्ने हो, त्यहाँको पार्टीले गोलभेंडा भारतमा बिक्री गरिदिन्छ,’ उनले भने, ‘प्रतिकिलो ३० रुपैयाँदेखि १ सय १० रुपैयाँसम्ममा बिक्री गरेका छौँ ।’

गोलभेंडाको भाउ नपाएको भन्दै असार ३ मा किसानहरूले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा गोलभेंडा फालेर विरोध जनाएका थिए । त्यसबेला कालिमाटी तरकारी बजारमा टनेल गोलभेंडाको न्यूनतम मूल्य ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो । लागत नउठेको भन्दै केही ठूला किसानले गोलभेंडा फालेर विरोध गरेका थिए । विरोधस्वरूप उनीहरूले ३ दिनसम्म बजारमै पठाएनन् ।

त्यसपछि उकालो लाग्न थालेको ठूलो गोलभेंडा साउनमा न्यूनतम मूल्य १ सय ६० र अधिकतम मूल्य १ सय ८० मा बिक्री भएको थियो । त्यस्तै, सानो गोलभेंडा न्यूनतम मूल्य ७० र अधिकतम ८० रुपैयाँ, टनेलको गोलभेंडाको न्यूनतम मूल्य ९५ रुपैयाँ र अधिकतम १ सय १० रुपैयाँमा बिक्री भएको थियो । नेपाली गोलभेंडा भारत निर्यात भएपछि यहाँ महँगो भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार भारतमा अभाव देखिएपछि भारत सरकारले तरकारी बालीलाई प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेको थियो । भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेपछि नेपाली गोलभेंडा सहजै निर्यात सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै