पार्टीको झण्डा वा चिह्न प्रयोग गरी फेसबुक पेज नचलाउन कार्यकर्तालाई कांग्रेसको निर्देशन – Nepalboli

पार्टीको झण्डा वा चिह्न प्रयोग गरी फेसबुक पेज नचलाउन कार्यकर्तालाई कांग्रेसको निर्देशन

   ५ भाद्र २०८०, मंगलवार  

नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । साथै प्रत्येक केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरी सबै तहका कार्यसमितिलाई एकरएकवटा आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न पनि कांग्रेसको निर्देशन छ ।

मिन विश्वकर्मा नेतृत्वको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको जनाएको हो । क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग एकरुपता हुने गरी सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज संचालन गर्न गराउन र पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न गराउन निर्देशन दिने काम भएको छ, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले आयोजना गरेको आन्तरिक विशेष अभियानको समीक्षा गर्दै यस्तो बताइएको हो । जहाँ केही निर्वाचनहरुमा कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा पार्टीकै आन्तरिक असन्तुष्टि र नेतृत्वबीच बेमेललाई प्रमुख कारणको रुपमा औल्याइएको छ ।

विज्ञप्तिमा उल्लेख छ, नेपाली राजनीतिक सन्दर्भमा नेपाली कांग्रेस जनताको स्थायी विश्वास पाएको दल मान्न सकिन्छ । तथापि केही निर्वाचनहरुमा कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा कहिले आफ्नै अन्तर्कलह, कहिले सांगठानिक अव्यवस्था त कहिलेकाँही नेतृत्वको बेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेता साथीहरुको बुझाइ रहेको पाइयो ।

यसबीचमा कांग्रेसविरुद्ध अन्य दलले भ्रम फैलाएकाले पनि पराजित हुनु परेको समीक्षा गरिएको छ । यद्यपि सत्ता गठबन्धन गरी निर्वाचनमा भाग लिने क्रममा कतिपय स्थानमा आफूले छाडेर अन्य दलका उम्मेदवारलाई समर्थन गर्नुपर्दा नेतृत्व तहमै पनि व्यापक असन्तुष्टि बढेको बताइएको छ ।

हाल नेपाली कांग्रेस तीनै तहका निर्वाचनमा विगतको भन्दा राम्रो परिणामका साथ प्रथम पार्टी बनेको कुरा सबै तहमा सकरात्मक सन्देश फैलिएको भएता पनि तत्पश्चात पार्टीभित्र र बाहिरबाट कांग्रेसविरुद्ध फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्योलता सिर्जना भएको र यसैकारण पार्टी कमजोर वा शिथिल भएको भनी विपक्षीले फैलाएको भ्रममा हाम्रो पार्टीका साथीहरु समेत प्रभावित भएको पाइयो, विज्ञप्तिमा उल्लेख छ ।

साथै आफ्ना सफलतालाई आत्मसात गरी जनतामाझ जानुपर्नेमा उम्मेदवारहरू नै असन्तुष्टिको भारी बोकेर जानुपर्ने अवस्था सिर्जना भएको बताइएको छ । जसले गर्दा निराशा बढेको औल्याइएको छ ।

विज्ञप्तिमा भनिएको छ, सफतालाई सुखद ढंगले आत्मसात गरी तीनै तहका सरकार मार्फत जनतामा पार्टी र उम्मेदवारले गरेका आफ्ना प्रतिबद्धता कार्यान्वयनको महान राष्ट्रिय अभियानमा जुट्नुपर्ने बेला पार्टीका अधिवेशन र निर्वाचनका असन्तुष्टिको भारी बोकेर जनतामा जाने प्रवृति बढ्यो । फलस्वरुप पार्टी पंक्तिमा निराशाको बादल मडारियो । यसैलाई अवसर ठानी विचार, संगठन, सवाल र नीति कार्यक्रम समेत नभएका दलहरुले गाली, विरोध र अराजक, उत्ताउलो गतिविधिको सहारामा लोकतन्त्र, मानवअधिकार, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सात दशकसम्म वलिदानीपूर्ण क्रान्ति, संघर्ष र आन्दोलन गरेर आएका दलहरु त्यसमा पनि विशेषतः नेपाली कांग्रेसलाई अस्वभाविक ढंगले प्रहार गर्न थालिएको छ भन्ने कुरा जिम्मेवार अग्रज नेताहरुको बुझाइ छ ।

यसैबीच कांग्रेसले समुदायमा कांग्रेसु कार्यक्रम स्थगित गरेको छ । मंगलबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभएसम्मका उक्त कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै