सुधार गृह तोडेर भागे कैदीबन्दी, १९४ जना प्रहरीको सम्पर्कमा – Nepalboli

सुधार गृह तोडेर भागे कैदीबन्दी, १९४ जना प्रहरीको सम्पर्कमा

   ५ भाद्र २०८०, मंगलवार  

समयमै उपचार नभएर सहकर्मीको मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका बाल सुधार केन्द्रका किशोरहरू झ्याल र पर्खाल फुटाएर भागेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भागेका मध्ये १९४ लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बाँकी फरार २६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । ७५ जना कैदीबन्दी भने नभागी सुधार गृहमै रहेको बताइएको छ ।

कमजोर व्यवस्थापन र बाहिरबाट आन्दोलन भएको मौकाको फाइदा उठाउँदै सुधार गृहको पर्खाल र गेट फोरेर किशोर भागेपछि भक्तपुरमा सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । ठुलो सङ्ख्यामा प्रहरी परिचालनसँगै स्थानीयमा केही समय त्रास फैलिएको थियो । भाला, छुरीलगायतका घरेलु हतियार नै बोकेर सुधार गृहका किशोर सडकमा आएका थिए । प्रत्यक्षदर्शीका अनुसार डेढ सयभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भागेका थिए । सुधार गृहमा सादा पोसाकका बिनाहतियारका प्रहरी मात्रै बस्न पाउँछन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “सुधार गृहमा हतियार बोकेर सुरक्षाकर्मी जान मिल्दैन । त्यहाँ लाठी चार्ज पनि गर्न नमिलेको र कमजोर व्यवस्थापनका कारण कतिपय किशोर भाग्न पुगे ।” उहाँले सुरक्षा घेराभन्दा बाहिर नभएको र सम्पर्कमा आउने क्रम जारी रहेको उल्लेख गर्नुभयो । गृह तोडेर भाग्ने क्रममा प्रहरीसँगको झडपमा केही प्रहरी र किशोर घाइते भएका थिए ।

कैदीबन्दीको आन्दोलन सोमबार मात्रै नभएर आइतबारदेखि नै सुरु भएको थियो । सोमबार दिउँसो उनीहरूले रड, भालालगायतका सामग्री प्रयोग गरेर बालगृहको पछिल्लो भाग फुटाएर भागेका थिए । केही समय उनीहरूले सडक नै कब्जा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै