ओली नआएपछि शीर्ष नेताहरुको बैठक बस्न सकेन, संसद बैठक सूचना टाँसेर स्थगित – Nepalboli

ओली नआएपछि शीर्ष नेताहरुको बैठक बस्न सकेन, संसद बैठक सूचना टाँसेर स्थगित

   २०८० भाद्र ५, मंगलवार  

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।

‘तर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भने प्रधानन्यायाधीशको शपथ पनि रहेको र ओली बिरामी भएकाले आज बैठकमा नआएकाले भोलि शीर्ष नेताको बैठक बस्ने जानकारी दिए ।

राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

कार्यदलले तयार पारेको उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदाका बारेमा शीर्ष नेताहरुको बैठकमा पेस गर्नका लागि शीर्ष नेताको बैठक बोलाइएको थियो ।

संसद बैठक स्थगीत
प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै