प्रधानमन्त्री पुष्पकमल दाहालको नियतमाथि शंका देखियो – प्रदीप पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको नियतमाथि शंका देखिएका बताएका छन । भ्रष्टाचारका फाइल खोल्ने र यसमा मुछिएका सबैमाथि अनुसन्धान गर्नुपर्ने भए पनि प्रधानमन्त्री दाहालले आफ्ना मानिस परेपछि ती फाइल अघि नबढाएको देखिएको पौडेल बताउँछन्।
कांग्रेस रत्ननगर सम्मेलनको मंगलबार उद्घाटन गर्दै पौडेलले भने, ‘प्रचण्डको पार्टीको सिट हाम्रो आधाभन्दा पनि कम छ। हामीले उहाँलाई प्रधानमन्त्री बनाएको हो,’ उनले भने, ‘यो सरकारले भ्रष्टाचारका फाइल खोल्दा समर्थन गरिएको छ। तर फाइल खोलेपछि हाम्रा मानिस पर्ने अरूका नपर्ने भन्ने हुन्न, संलग्न सबैमाथि छानबिन हुनुपर्छ।’
उनले प्रधानमन्त्री दाहालको नियतमाथि पनि शंका गरे। ‘प्रधानमन्त्रीज्यू, तपाईंको नियत ठिक देखिएन। तपाईंले जतिसुकै चर्का कुरा गरे पनि आफ्ना मानिस परेपछि भ्रष्टाचारका फाइल खोल्ने तपाईंको यात्रा अडिएको देखियो,’ उनले भने।
कतिपय भ्रष्टाचार प्रकरणमा नेकपा माओवादी केन्द्रका नेताहरूका नाम आइरहे पनि सरकारले उनीहरूमाथि अनुसन्धान गरेकोमा कांग्रेसभित्र सरकारका कामकारबाहीलाई लिएर असन्तुष्टि छ। पौडेलले आममानिसले सुशासन खोजिरहेको बताए।