कोशीका मुख्यमन्त्रीले उद्धव थापाले पाए विश्वासको मत

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाको बैठकको अध्यक्षता गरेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरी समेतको मत जोडेर विश्वासको मत प्राप्त गरेका छन् । सभामुखको जिम्मेवारीमा रहेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीले सोमबारको बैठक संचालन गरेका थिए । उनले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका छन् । पक्षमा ४७ मत परेको छ । विपक्षमा ३० मत खसेको छ । कायम रहेका ९३ सदस्य मध्ये ७७ उपस्थित थिए ।
मत सचयाउने अवधिको घण्टी बजिसकेपछि इसराइलले सभाध्यक्ष मण्डलका अर्की सदस्य गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न समय दिएका थिए । त्यस लगत्तै एमालेका सांसद उठेर यो प्रक्रिया गलत भएको भन्दै विरोध जनाएका थिए ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेशसभामा शुक्रबार सूचना दर्ता गराएका थिए । थापाले सूचना दर्ता गराई आइतबारको लागि बैठक बोलाउन अनुरोध गरेका भएपनि उपसभामुख सिर्जना दनुवारले सोमबार तोकेकी थिइन । तर, बैठकको दिन कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागी नभइ दनुवार बिहानै विराटनगरबाट काठमाडौ लागेकी थिइन । यति एयरको विमानबाट उनी बिहान सवा ८ बजे काठमाडौ उडेकी थिइन ।
यसअघि सभाध्यक्ष मण्डलमै रहेका एमालेकी मालती लिम्बू र राप्रपाका सांसद अमर बहादुर बिष्ट बिदामा बसेका थिए । त्यसपछि वर्णानुक्रमका आधारमा मन्सुरीले सभा संचालन गर्नु परेको हो ।
बैठकमा राप्रपाका सबै ६ सांसद अनुपस्थित थिए । गठबन्धनका कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसापका १ सांसद छन् । एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।