अविरल वर्षापछि कोेहलपुरका अधिकांश भाग डुबानमा – Nepalboli

अविरल वर्षापछि कोेहलपुरका अधिकांश भाग डुबानमा

   ४ भाद्र २०८०, सोमबार  

सोमवार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ ।

कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । स्थानीय विकल भट्टराईका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगरिएका कारण मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेको हो ।

उहाँले केही घण्टाको पानीमा नगर डुबानमा पर्नु भनेको निकै गम्भीर कुरा भएको जनाउँदै पानी निकासको तत्काल व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । डुडुवा खोला वरिपरिका बस्तीहरु पनि डुबानमा परेका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले सोमवार बिहानैबाट नगरपालिकाका नगर प्रहरीहरु पानीको निकास खोल्न सक्रिय रहेको बताउनुभयो ।

उहाँले डुबान भएका क्षेत्रहरुको निरीक्षण र अनुगमन गर्ने कार्य भइरहेको जनाउँदै जम्मा भएको पानी धेरै बेरसम्म नटिक्ने हुँदा ठूलो समस्या नहुने बताउनुभयो । पानीको निकासका लागि नगरपालिकाले निरन्तर काम गर्दैआएको पनि नगरप्रमुख आचार्यले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै