मुस्ताङको कागबेनीमा आएको बाढीले २९ घर पूर्णरूपमा ध्वस्त
आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो ।
एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए ।
माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए । केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकाल्न पाएनन् ।
बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौं नागरिक घरबारविहीन बनेका छन् । कागखोलामा करीब २ घण्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाए । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्य समेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्याएको उनले बताए ।
माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौं मानिस बाढीमा पुरिन सक्ने उनले बताए ।
‘दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौं, एक्कासि मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौं, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,’ उनले भने, ‘एकैछिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौं, नत्र सबै बाढीमा परिने रैछ ।’
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । १३ आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धार कार्यलाई जारी राखेको उनको भनाइ छ ।
सोमवार रातिसम्मको विवरणअनुसार चारपांग्रे २ वटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, ३ काठेपुल बाढीले बगाएको उनको भनाइ छ । बाढीले प्रभू बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए । मर्धशाला, गुम्बा लगायतका संरचना पनि बाढीमा परेको उनी बताउँछन् । उनका अनुसार करीब २०/२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ ।