शेखर कोइराला भन्छन – सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको बताएका छन्। आइतबार नयाँ बानेश्वरमा संसदीय दल बैठकमा बोल्दै सांसद समेत रहेका कोइलालाले सिआइबीले भन्दा पनि उच्चस्तरीय समितिबाट सुन प्रकरण छानबिन गरिनुपर्ने बताए।
‘प्रचण्डजीको सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयका एक कर्मचारी एक साता पहिले राजश्व अनुसन्धानको महानिर्देशक भएर जानहुन्छ, सुन समातिन्छ र त्यसपछि घटनाहरू पनि हेरौं,’ उनले भने, ‘सिआइबीलाई छानबिन गर्न किन दिनुपर्यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भन्नुहुन्छ। त्यसैले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ।’
उनले सुन कुन देशबाट नेपाल भित्रिएको हो र ती देशहरूलाई सरकारले पत्राचार गरेर बुझ्यो कि बुझेन भन्ने प्रश्न पनि सोधेका थिए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ। ‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको होरु त्यतातर्फ पनि सोच्नुपर्छ,’ कोइरालाले भने।
फरक प्रसंगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय राज्य दिने कुरा बोलेको बताए। आदिवासी जनजाति दिवसका दिन प्रधानमन्त्रीले माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौं भनेको कोइरालाको भनाइ थियो।
तर प्रधानमन्त्रीको यो धारणामाथि कांग्रेसकले अहिलेसम्म खेद व्यक्त नगरेको उनले बताए। ‘प्रधानमन्त्री भएर यसरी बोल्ने अधिकार उहाँलाई छैन,’ उनले भने।
साथै उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले विवादित व्यक्ति ल्यारक्याल लामालाई नियुक्त गरेकोमा पनि विरोध गरेका छन्। ‘यस्ता निर्णयको भारी कांग्रेसले बोक्दैन,’ उनले भने।