कांग्रेस सांसद सुनिल शर्मा रिहा गर्न अदालतको आदेश

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। अदालको आदेश पछि शर्मा रिहा भएका छन ।
शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरोका एसपी एवं प्रवक्ता नवराज अधिकारीले भने अरू दुई जनालाई सात दिन र तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएको बताए।
सिआइबीले सरकारी वकिलको कार्यालयमार्फत् शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई उनकै निवासबाट पक्राउ गरेको थियो।
मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।