एमालेको अवरोधपछि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज पनि स्थगित – Nepalboli

एमालेको अवरोधपछि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज पनि स्थगित

   २६ श्रावण २०८०, शुक्रबार  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको मागसहित एमालेले प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । सत्तापक्षका सांसदले बोल्ने समय माग्दै उठेर अवरोध गरेका थिए ।

साहले बोलेलगत्तै एमाले सांसदहरु नाराबाजीसहित रोष्ट्रम घेरेका थिए । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध भएको छ । शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

जब राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजे तब एमालेका सांसदहरुले उठेर अवरोध गरे । तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए । तर सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध गरे ।

दुवै पक्षका सांसदहरु नबसेपछि कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक नै स्थगित गरे । राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै