एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित – Nepalboli

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

   २२ श्रावण २०८०, सोमबार  

सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय दिए । उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।

उनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङ शेर्पाको नागरिकता बारे पनि प्रश्न उठेको बताइन् ।

उनले भेपमा सुन तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको प्रतिवेदन सीआईबीले तयार पारेको तर सरकारले उनीहरुलाई जोगाइरहेको आरोप लगाइन् ।

सरकारमा रहेका दलका मान्छे पनि तस्करीमा संलग्न रहेको आरोप लगाउँदै उनले सरकारले गर्ने छानबिनबाट सुन तस्करीको सत्यतथ्य आउन नसक्ने भएकाले विषेश छानबिन समिति गठन गर्नु पर्ने माग आफूहरुले राखेको बताइन् ।

उनले बोलेपछि पनि एमाले सांसदहरुले उठेर विरोध जारी राखेकाले अध्यक्षले बैठक साउन २४ गते बुधबार दिनको १ बजेसम्मका लागि स्थगित गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै