सुन तस्करी प्रकरणको छानविन र अनुसन्धान अब सीआईबीले गर्ने – Nepalboli

सुन तस्करी प्रकरणको छानविन र अनुसन्धान अब सीआईबीले गर्ने

   १९ श्रावण २०८०, शुक्रबार  

गत साउन ३ गते बरामद भएको १०० किलो सुन प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्वमा हुने भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो ।

हङकङ हुँदै त्रिभुवन विमानस्थल भन्सार छलेर भित्र्याइएको १०० किलो सुन राजस्व अनुसन्धानले बरामद गरेर अनुसन्धान अघि बढाइरहेको अवस्थामा अब त्यसको नेतृत्वको सीआईबीको हातमा जाने भएको हो। बिहीबार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसहितको बैठकले उक्त निर्णय लिएको हो।

बैठकमा सहभागी प्रहरी महानिरीक्षक वसन्त कुँवरका अनुसार सुन तस्करी प्रकरणमा अहिलेसम्म राजस्वले जेजति अनुसन्धान गरेको छ, त्यसको सबै फाइल सीआईबीलाई बुझाएर छानबिन अघि बढाउने निर्णय भएको छ।

कुँवरका अनुसार अब सीआईबीको नेतृत्वमा राजस्व अनुसन्धान विभागसँग पनि समन्वय गरेर अनुसन्धान हुने भएको छ। यो प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ दिन लामो अनुसन्धान गरेको छ। यसबीचमा नेपालीसहित सुन तस्करीमा मुछिएका चिनियाँ नागरिकसमेत पक्राउ परेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै