६ राजदूतको नाम संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन
सरकारद्वारा ६ मुलुकका लागि प्रस्तावित नेपाली राजदूतहरुको नाम संसदीय सुनुवाइ प्रक्रिया सकेर सर्वसम्मतिले अनुमोदन गरिएको छ। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि प्रस्तावित नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नाम सर्वसम्मतिले अनुमोदनभएको हो।
उनीहरुको तीनैजनाको सुनुवाइ प्रक्रिया बुधबार नै सकिएको थियो। त्यसैगरी संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीको नाम पनि अनुमोदन भएको छ। उनीहरुको सुनुवाइ बिहीबार सुनुवाइ समितिमा भएको थियो।
सांसदहरुले केही प्रस्तावित राजदूतहरुलाई कठोर प्रश्न गरेका थिए। सुनुवाइका क्रममा सांसदहरुका कडा प्रश्न सामना गरेका उनीहरु सबैको नाम सर्वसम्मतिले अनुमोदन भएको हो। संसदीय सुनुवाइमा प्रस्तावित राजदूतहरुले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।
उनीहरुको प्रस्तुत गरेको कार्ययोजना र प्रस्तुतिप्रति सुनुवाइ समितिका सदस्यहरुले सन्तुष्टि व्यक्त गरेका थिए।