फैलिदै डेंगी संक्रमण- संक्रमितको संख्या ७ हजार, ७ जनाको मृत्यू – Nepalboli

फैलिदै डेंगी संक्रमण- संक्रमितको संख्या ७ हजार, ७ जनाको मृत्यू

   १८ श्रावण २०८०, बिहीबार  

पछिल्लो समयमा तीव्ररुपमा फैलिरहेको डेंगी संक्रमणका कारण संक्रमित हुनेको संख्या ७ हजार नाघेको छ । संक्रमित सबैभन्दा धेरै सुनसरीमा देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएअनुसार हालसम्म कुल ७ हजार २५३ जना डेंगीबाट संक्रमित भइसकेका छन् । जनवरी १ देखि संकलित यो तथ्यांक बिहिबारसम्मको हो ।

३० जुलाईसम्म सुनसरीमा ३ हजार ४८६ वटा डेंगीका केस रहेकोमा ४ दिनको अन्तरालमा १ हजार थप भएका हुन् । सुनसरीमा हाल ४ हजार ६७९ जना संक्रमित भइसकेका छन् । त्यसैगरी धादिङमा ८२९, काठमाडौँमा ११९, दार्चुलामा १९१ र कास्कीमा २१४ वटा डेंगीका केस भेटिएको छ । संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा देखिएको छ । त्यहाँ मात्रै ५ हजार १०१ जनामा डेंगी संक्रमण भइसकेको छ ।

त्यसैगरी वाग्मती प्रदेशमा ११७१, गण्डकी प्रदेशमा ३८९ र सुदूरपश्चिम प्रदेशमा ३४२ जना, लुम्बिनी प्रदेशमा १९१, मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित भइसकेका छन् ।

हालसम्म ७० जिल्लामा डेंगी पुष्टि भइसकेको छ । ईडीसीडीले डेंगीबाट हाल ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक ६ जना सुनसरीका हुन् भने एक जना उदयपुरका हुन् । यी सबै मृतक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रिर्पोटेड भएका हुन् ।

पछिल्लो डेढ महिनायता धरानमा डेंगी संक्रमण बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० शैय्याको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ ।

जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय (पिक सिजन) मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ । डेंगीबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने गर्नुपर्छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै