एमालेको अवरोध गर्ने अडानपछि प्रतिनिधि सभा बैठक स्थगित – Nepalboli

एमालेको अवरोध गर्ने अडानपछि प्रतिनिधि सभा बैठक स्थगित

   १५ श्रावण २०८०, सोमबार  

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको थियो। तर बैठक बस्दै नबसी स्थगित भएको छ। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार दिउँसो १ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको बताए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो।

संसदको गतिरोध हटाउने विषयमा उनीहरूबीच कुराकानी भएको थियो।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीबीच संसदको गतिरोध हटाउनेबारे छलफल भएको थियो। ‘एमालेले सुन प्रकरण छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेकोले भोलिसम्मका लागि बैठक स्थगित भएको हो,’ उनले भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन पहिले करिब एक सय किलो सुन बरामद भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै