नेपाली कांग्रेसको महासमिति बैठक मंसिरमा हुुने

नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।
१४ औं महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गरिने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ।
महासमिति बैठक काठमाडौंमा बस्नेछ। यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
यस्तै कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारलाई माग गरेको छ । महामन्त्री शर्माले मधेस प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।
यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।
अनुशासनबारे कांग्रेसले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय पनि गरेको छ । बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री शर्माले बताए ।
यसको साथै नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको महामन्त्री शर्माले बताए । कांग्रेस बैठक भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे भने कांग्रेस मौन बसेको छ ।
खाँणबारे कांग्रेस मौन बसे पछि महामन्त्री गगन थापाले फरक मत राखेका छन । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणबारे बैठकले निलम्बनको निर्णय नलिएपछि महामन्त्री थापाले फरक मत राखेका हुन् । बैठकमा पनि महामन्त्री थापाले खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराएका थिए ।
बैठकका निर्णयमा पनि महामन्त्री थापाको लिखित मत रहेको अर्को शर्माले सुनाए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।