कांग्रेस सभापति देउवाले भने- पार्टी बैठकमा जीवन्त छलफल भयो, अर्को बैठक असोज दुुईमा हुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ दिनसम्म चलेको केन्द्रीय समिति बैठक धैर्यतापूर्वक सुने। केन्द्रीय सदस्यलाई बोल्न ७ मिनेट समय दिए, कसैले उनको समर्थन गरे त कसैले विरोध। सभापति देउवाले नै बैठक सञ्चालन गरेका थिए।
बुधबार केन्द्रीय समितिको सातौं दिन महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न निर्णय अनुमोदनका लागि पेश गरे। प्रस्तावित निर्णयमाथि पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। सभापति देउवाले पालैपालो केन्द्रीय सदस्यलाई छुटेका कुरा छन् भने छोटकरीमा राख्न समय दिएका थिए। बैठक सक्नुअघि सभापति देउवा बोले । उनले लामो समय बोलेनन्।
‘साथीहरू धेरैधेरै धन्यवाद है, धेरै राम्रो बोल्नुभयो। धेरै महत्वपूर्ण विषय राख्नुभयो,’ देउवाले भने। देउवाले एक वर्षपछि केन्द्रीय समिति बैठक राखेका थिए। यसबारे धेरै आलोचना होला भन्ने आफूले ठाने पनि त्यस्तो नभएकोमा देउवा खुसी देखिए । ‘धेरै आलोचना हुन्छ होला भन्ने ठानेको थिए, कम भयो। धन्यवाद दिन चाहन्छु,’ उनले भने।
केन्द्रीय समिति बैठक पार्टीको फेसबुकबाट लाइभ गरेको प्रसंगमा सभापति देउवाले कांग्रेसका गतिविधि दुनियाँले हेर्न पाएको बताए। ‘वास्तवमा हामीले जीवन्त छलफल गर्यौं। कांग्रेसमा योग्य साथीहरू हुनुहुन्छ, यो कुरा दुनियाँलाई थाहा भयो, एक से एक साथी छन्, कोहीभन्दा कोही कम छैन भन्ने देखियो,’ देउवाले भने।
सभापति देउवाले नीति अधिवेशन गर्न नसकिएको स्वीकारे । २०७८ मंसिरमा १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भए पनि नीति अधिवेशन पछि गर्ने भनिएको थियो।६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि १८ महिना हुँदासम्म मितिसमेत तय हुन सकेको थिएन।
यसबारे देउवाले भने, ‘नीति अधिवेशन गर्ने भनेर हामीले निर्णय पनि गरेकै हो तर महासमिति बैठक गर्ने भइयो। नीति अधिवेशन ठूलो हुन्छ भन्ने भयो। महासमिति अलि सानो पनि छ। नीति अधिवेशन र महासमिति भन्या एकैजस्तो हो।’
उनले यसबारे पदाधिकारी र पूर्वपदाधिकारीलगायतसँग पनि आवश्यक छलफल गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
महामन्त्री गगन थापाले बैठकमा पेश गरेको वार्षिक कार्ययोजना पारित भएसँगै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकको मितिसमेत तोकेका छन्। ‘साथीहरू, अब त दुई महिनामा मिटिङ गर्नैपर्छ। अर्को बैठक, असोज २ गते बस्ने गरी यो बैठक सकिन्छ।’ कांग्रेस विधानमा पनि २ महिनाको अन्तरालमा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ।