कांग्रेसमा अब नयाँ ध्रुवीकरण प्रवेश गर्यो- नेता रमेश लेखक
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताए ।
केन्द्रीय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधबार सार्वजनिक हुने उनले बताए । बैठकले आम नागरिकको जनजीविकाबारेमा विशेष छलफल गरेको समेत उनको भनाइ छ ।
‘बैठक राम्रोसँग सञ्चालन भएको छ । मूलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनका बारेमा कुरा भयो, विधान कार्यान्वयन, समिति पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो । साथै पार्टीको जीवन भन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ, यो बैठकले पार्टी भित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निष्कर्षमा पुग्नेछौँ । कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वभाविक हुन् र यी हुन्छन्,’ उनले भने ।
प्रमुख सचेतक लेखकले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नु राम्रो भएको बताए ।