प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गर्ने दुई जना पक्राउ – Nepalboli

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

   २०८० श्रावण ७, आईतवार  

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । प्रधानमन्त्री सुशासन सल्लाहकार भएको र अन्य नेताहरुसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै विभिन्न कम्पनी तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले काठमाडौँको नागार्जुन नगरपालिका ८ का ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाललाई पक्राउ गरेको छ । उनीहरु दुवै जनालाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै उनीहरुले ना४च ८६७० नम्बरको जिप लगेर फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेपछि आइतबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै