केन्द्रिय समिति बैठक लाइभ गरेर जनतामा रहेको भ्रम हटछ – नेता महत
नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ। बुधबार केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताउनुभयो। उहाँले विगतमा भित्र एउटा र बाहिर अर्को हुनेकुरालाई लाइभका कारण रोकिने विश्वास लिएको बताउनुभयो। उहाँले लाइभ आइसकेपछि नेताले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताउनुभयो।
अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्ति बलियो हुनेकुरा केन्द्रीय समितिको बैठमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताउनुभयो। पार्टी नेता बालकृष्ण खाणको मुद्दाका बारेमा उहाँले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमीकमजोरी विधिबाट समाधान हुनुपर्ने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘‘लाइभले राम्रो गरेको छ। नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो। यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ। सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ। भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन्।’’