कांग्रेसमा महामन्त्रीको प्रस्ताव- वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुईदुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन् ।
हरेक दुई/दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन् । उनले अगाडि भने, वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहहिर गर्ने प्रस्ताव छ ।’
विभाग थपेर भदौ १६ भित्र पूर्णता दिइसक्ने
यसैगरि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभागहरु थप्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री थापाले हाल कायम रहेको २८ वटा विभागहरुमा केही थप गर्न गृहकार्य भइरहेको बताए । यसको प्रस्ताव बैठकमा आउने भन्दै उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ विभागहरुले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्नेछ ।
साथै हरेक ६ ६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ ।
भ्रातृ संस्थाहरुको भदौ १५ भित्र तदर्थ समिति, ६ महिनाभित्र अधिवेशन
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ । मंगलबार सुरु भएको बैठकमा महामन्त्री थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखेका हुन् ।
म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उनको प्रस्ताव छ ।
उनका अनुसार सबै भ्रातृ संस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३र३ महिना प्रथति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।
७ लाख सदस्य थप्ने लक्ष्यका सहित पार्टीको एक वर्षे अभियान
कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।
उनले अगाडि भने, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।’
मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।
थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए ।