अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौमा
प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राजनितीक भेटघाटमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
लूले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै सीताको तस्वीरमा माल्यार्पण पनि गरेका छन् ।
शुक्रबार मात्र काठमाडौंका आएका लूले प्रधानमन्त्री संग भटनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न शुक्रबार दिउँसो धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका हुन् । सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ।
नेपालमा शान्ति, लोकतन्त्र र विकास प्रबर्द्धनमा अमेरिकी सरकार र सहायक विदेशमन्त्री लुले गर्दै आएको अटल सहयोगका लागि देउवाले धन्यवाद व्यक्त गरे ।
लुले र एमाले अध्यक्ष केपी शर्मा ओली संग ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा अध्यक्ष शिष्टाचार भेट गरेका थिए । विदेशमन्त्री लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना कार्यान्वयन हुँदै गरेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए ।
लुले परराष्ट्रमन्त्री एनपी साउदसँग अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गरेका हुन् ।
भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता, बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।