कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुुरु
नेपाली कांग्रेसले पार्टीको सदस्यता र सांगठनिक गतिविधिबारे जिल्ला सभापतिहरुसँग छलफल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिसँग तीन वटा विषयमा छलफल गरेका हुन् । विहिवार भएका छलफल शुक्रवार पनि जारी रह्ने काग्रेसले जनाएको छ ।
महामन्त्री शर्माले जिल्ला सभापतिलाई स्वागत गरेरपछि बैठक सुरु भएको थियो । आगामी चुनौतीलाई सामना गर्ने गरी अगाडि बढ्न जरुरी रहेको महामन्त्री शर्माको भनाइ थियो ।
लामो समयपछि बैठक हुन सकेको थिएन । हाम्रो केन्द्रीय समिति बैठक पनि बस्दैछ,’ महामन्त्री शर्माले भने, ‘तपाईहरुसँग पनि छलफल गरेर आगामी चुनौती सामना गर्न हामी छलफल गरेर जान जरुरी छ । हामी एक मत भएर जानुपर्छ ।’
त्यसपछि आइटी विज्ञ दिपेश विष्टले डिजिटल कांग्रेसबारे प्रस्तुति गरेका थिए । उनले जिल्ला सभापतिलाई अनलाइनबाट पार्टी सदस्यता वितरण र नवीकरणको प्राविधिक कुरा सिकाएका थिए । विष्टको प्रस्तुतिमा कांग्रेस र सभापतिको प्रसङ्ग कतै थिएन । त्यसपछि बैठकमा महामन्त्री थापाको प्रस्तुति रह्यो ।
महामन्त्री थापाले आफूले पटक पटक पठाएका सर्कुलर कार्यान्वयन भएन–नभएको विषय राखेका थिए । आगामी भदौमा नीति अधिवेशन तय गर्ने र अर्को वर्ष महासमिति बैठक बस्ने उनको भनाइ छ । ‘पार्टीका जिल्ला सभापतिसँगको छलफललाई प्रत्येक वर्ष गर्ने तालिका बनाउँछौँ । पार्टीलाई अब तालिका अनुसार चलाउन हामीले तयारी गरिरहेका छौँ,’ महामन्त्री थापाले भने ।
पार्टीलाई सामाजिक काममा जोड्न उनले जिल्ला सभापतिलाई निर्देशन दिए । उनले भने, ‘हामीसँग ८ लाख क्रियाशील सदस्य छन् । एक पटक सबै जुरुक्क उठेर जाग्नुपर्ने बेला आएको छ । पार्टीलाई सामाजिक काममा जोड्नुपर्छ ।’
महामन्त्री थापाको प्रस्तुतिपछि जिल्ला सभापतिका लागि ‘फ्लोर ओपन’ गरिएको थियो । त्यस पछि जिल्ला सभापतिहरुले बोलेका छन । शुक्रवार पनि जिल्ला सभापतिहरुले बोल्ने क्रम जारी रह्ने काग्रेसले जनाएको छ ।