सरकार फेरिए पनि विकासमा नीतिगत निरन्तरता चाहिन्छ- वर्षमान – Nepalboli

सरकार फेरिए पनि विकासमा नीतिगत निरन्तरता चाहिन्छ- वर्षमान

   २०८१ माघ १३, आईतवार  

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता आवश्यक रहेको बताएका छन् । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीतिमा परिवर्तन हुन नहुने बताए । ‘हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ’, आफैं इन्चार्ज रहेको माओवादी केन्द्रको अर्थ तथा योजना विभागले आइतबार राजधानीमा गरेको कार्यक्रममा पुनले भने, ‘तर, नीतिगत निरन्तरता भयो भने मात्रै रिजल्ट आउँछ ।’

उनले नीतिगत निरन्तरताकै कारण ऊर्जा र सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत उपस्थिति जनाउन सफल भएको उदारहण प्रस्तुत गरे । पुष्पकमल दाहाल प्रचण्ड गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भएका बेला २०६५ सालमा ऊर्जा क्षेत्रमा लगानीको श्रोत नखोज्ने, १० वर्षसम्म आयकरमा छुट दिने तथा पब्लिक, प्राइभेट, पार्टनरसीप ९पीपीपी० मोडलमा आयोजना विकास गर्ने नीति ल्याएको चर्चा गर्दै उनले त्यही कारण लोडसेडिङ अन्त्य भएर भारत हुँदै बंगलादेशसम्म विद्युत निर्यात गर्ने वातावरण बनेको उल्लेख गरे ।

यस्तै, सिमेन्ट उद्योगका लागि चाहिने विद्युत उद्योगसम्म सरकारले निःशुल्क लगिदिने र खानीसम्म पहुँच सडक निर्माण गरिदिने नीतिका कारण सिमेन्ट उद्योग आत्मनिर्भर भएर भारत निकाशी गर्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।

‘१८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट हामी अहिले बढी भएको बिजुली क्षेत्रीय बजार (भारत–बंगलादेश) मा निर्यात गर्ने अवस्थामा पुगेका छौं’, पुनले भने, ‘आन्तरिम उत्पादनले १५ प्रतिशत मात्र धानिरहेको नेपाली सिमेन्ट उद्योग अहिले आत्मनिर्भर भएर भारतीय बजारमा जबर्जस्ती आफ्नो हिस्सा लिन सफल भएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै