गुल्मीको इस्मा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने – Nepalboli

गुल्मीको इस्मा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने

   २०८१ असार १३, बिहीबार  

गुुल्मीको इस्मा गाउँपालिकाले निःशुल्क रुपमा प्राविधिक शिक्षा पढाउने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा तर्फको आकर्षणलाई मध्यनजर गर्दै जीवराज आश्रीत बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क रुपमा पढाउने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले जानकारी दिनुभयो ।

पालिकाको वडा नम्वर ५ मा रहेको जीवराज आश्रीत बहुप्राविधिक शिक्षालयमा अध्यापन गर्ने सबै विद्यार्थीका लागि निःशुल्क रुपमा पालिकाले अध्यापन गराउने गरी व्यवस्था गरेको खडकाले बताउनुभयो ।

ग्रामीण स्तरमै खुलेको शिक्षालयलाई थप टेवा पुग्ने र प्राविधिक शिक्षा तर्फलाई पनि आकर्षित गर्नका लागि यस्तो नीति लिएको खड्काको भनाइ छ । शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन/अध्यापन हुने तर विद्यार्थीको खर्च बढी लाग्ने हुँदा प्राविधिक शिक्षा पढ्ने रहर भएर पनि वञ्चित भएकाहरुका लागि अवसर हुनसक्ने पालिकाले जनाएको छ ।

शिक्षालयमा कुकिङ लगायतका विषयहरु पनि थप गर्दै सवलीकरण बनाउँदै लैजाने गरी पालिकाले योजना बनाएको खडकाले बताउनुभयो । अहिलेको आवश्यकता भनेकै प्राविधिक शिक्षा भएकाले समयको मागसँगै अगाडि बढेको उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्षका लागि पाँच लाख रुपियाँ बजेट व्यवस्था गरेको बताउँदै निःशुल्क शिक्षाका लागि बजेटको अभाव हुन नदिने खडकाको दाबी छ । गाउँमै निःशुल्क रुपमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएपछि ग्रामीण क्षेत्रबाट हुने बसाइँसराइँको दर पनि कम हुने पालिकाले विश्वास लिएको छ । उक्त शिक्षालयमा तीन वर्षे सर्भेक्षक विषयमा पढाई हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै