बाढीपहिरो र चट्याङले २४ घन्टामा १२ को मृत्यु, विराटनगर जलमग्न
मनसुन सक्रिय भएसँगै देशभर विपद् जन्य घटना भइरहेका छन्। मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्यांङका घटनाबाट एक दर्जन व्यक्तिको ज्यान गएको छ।
विपदका घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्। नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४५ वटा विपदका घटना भएका छन्।
विपदबाट देशभर १२ जनाको मृत्यु भएको छ। ९ जना घाइते र ६ जना बेपत्ता छन्। विभिन्न ठाउँमा भएको यो घटनामा बेपत्ताको खोजी कार्य जारी छ। देशभर आगलागीका चार वटा घटना भएका छन्। यसबाट मानवीय क्षति भएको छैन। एउटा घरमा भने क्षति पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ। पहिरोबाट मात्रै चार जनाले ज्यान गुमाएका छन्। तीन जना घाइते र चार जना बेपत्ता छन्।
विराटनगर जलमग्न
मंगलबार रातिबाट सुरु भएको भारी वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न हुदै डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । पछिल्लो ७ घण्टा विराटनगरमा लगातार भारी वर्षा भएको थियो । पानीको निकास नहुँदा सहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ । बस्ती क्षेत्रमा जमेको पानीले पक्का घरभित्र पानी पसेको छ भने खोलाको सतह बढ्दा खोला किनारका बस्तीहरु जोखिममा परेका छन् ।
बजार क्षेत्रका अधिकांश बाटोमा पानी भरिएका कारण हिंडडुल गर्न समस्या भएको छ भने कच्ची घरहरुमा पानी पसेर सर्वसाधारण समस्यामा परेका छन् । वर्षाको कारण केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका दुई दर्जन घर डुबानमा परेका छन् । विराटनगर १२ का वडा सदस्य कुशेश्वर राजवंशीले डुबानमा परेका घरका परिवारहरुलाई नजिकै रहेको सामुदायिक भवन र बखरी स्कुलमा राखिएको जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण खोलाहरुमा आएको बाढीले विराटनगरका ४, ५, ६, ८, १२, १५, १६, १७, १८ का केही बस्तीका घरहरु डुबानमा परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।