कांग्रेस मात्रै राष्ट्रिय पार्टी हो- गगन थापा – Nepalboli

कांग्रेस मात्रै राष्ट्रिय पार्टी हो- गगन थापा

   १० असार २०८१, आईतवार  

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दाबी थियो । शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको ठुलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो । देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन् । देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी पनि अरुभन्दा बढी छ । संविधानलाई जोगाउनुपर्ने बाध्यता छ । संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन् । यसलाई संशोधन गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छन् ।’

प्रदेश सरकारलाई राजनीतिक दलहरूले हलुका रूपमा लिएकै कारण प्रदेशहरूमा अस्थिरता भएको बताए । संविधानको अभ्यास गर्दै जाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गरे । उनले भने, ‘प्रदेशमा अहिले यति धेरै सरकार परिवर्तन भएका छन् । हामीले प्रदेशलाई हल्का रूपमा लियौँ । यसका कमजोरी हाम्रो निर्वाचन प्रणालीसँग पनि जोडिएको छ । संघले प्रदेशको अधिकार खोसिदिएको छ । यी अभ्यासका क्रममा सिकेका कुराहरू हुन । हामीले सुधार्नुपर्छ ।’

नेपाली कांग्रेस अहिले पनि वीपी कोइरालाले देखाएको बाटोमा हिँडिरहेको उल्लेख गर्दै कांग्रेस एक दुई जनाको बेइमानीका कारण नबरालिने बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै