वीरगन्ज महानगरपालिकाको बजेट दुई अर्ब ८९ करोड – Nepalboli

वीरगन्ज महानगरपालिकाको बजेट दुई अर्ब ८९ करोड

   १० असार २०८१, आईतवार  

वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा अगामी आर्थिक वर्षको बजेट ६२ करोडले कम छ। वीरगन्ज महानगरपालिकाका उपप्रमुख ईम्तीयाज आलमले शनिबार १५ औँ नगर सभामार्फत २०८१/०८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा ६२ करोड कम रहेको बताउनुभयो।

उपनगर प्रमुख आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का भएको, सङ्घीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँड घट्न गएको र घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घर जग्गा रजिष्टेशन आयस्रोत समेत घट्न जाँदा अगामी आर्थिक वर्षको आकार घटेको बताउनुभयो।

नगर प्रमुख राजेशमान सिंहले गत आवको तुलनामा अगामी आबका लागि आएको बजेट केही घटेर आए पनि विकास निर्माणको काममा खासै असर नपर्ने गरी काम गरिने बताउनुभयो।

उहाँले वीरगन्ज महानगरपालिकाको नीति वैभव वीरगन्जको परिकल्पना तथा धार्मिक स्थलको सौन्दर्यकरण आन्तरिक पर्यटन स्थलको पहिचान प्रवर्द्धन र विस्तार तथा हराभरा सफा सुघर वीरगन्जको अवधारणालाई मूर्तरूप दिनेमा महानगर पालिका अडिग रहेको बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै