यो बर्खेबालीमा मल अभाव हुँदैन- मन्त्री साह – Nepalboli

यो बर्खेबालीमा मल अभाव हुँदैन- मन्त्री साह

   ८ असार २०८१, शुक्रबार  

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यसपाली वर्षा याममा रासायनिक मल खादको अभाव नहुने बताउनुभएको छ । रासायनिक मल आउने क्रम जारी रहेकाले मल अभाव नहुने उहाँको भनाइ छ । नेकपा (एमाले) निकट उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । विभागले मन्त्री साहलाई कृषि तथा पशुपंक्षीसम्बन्धि समस्या समाधान गर्न १५ बुँदे मागपत्र हस्तान्तरण गरेको छ ।

सो अवसरमा मन्त्री साहले भन्नुभयो, “मल ल्याउने हाम्रो प्रक्रिया नै लामो छ । टेण्डर प्रक्रियामै ८७ दिन लाग्छ । बाहिरबाट ल्याउन त्यता पनि त्यही प्रकारको झन्झट रहेकाले समयमा मल खाद आउन नसकेको हो । यो प्रक्रियालाई नै संशोधन गरी छोटो बाटो बनाउन सकेमात्र मल सहज आपूर्ति हुन्छ ।”

मल वितरण प्रक्रिया पनि प्रभावकारी नरहेको बताउँदै मन्त्री साहले भन्नुभयो, “मल वितरण प्रक्रिया नै प्रभावकारी छैन, कृषकलाई प्रसाद बाँडेजस्तो मल बाँड्नुपर्ने अवस्था छ । यी सबै समस्यालाई संशोधन गरी कृषकको माग सम्बोधन गर्नमा सरकारले ध्यान दिइरहेको छ ।”

कृषिमा मागेजति बजेट पनि सरकारले नदिएका कारण कृषकको माग समयमै सुनुवाई गर्न कठिन भएको उहाँले प्रष्ट पार्नुभयो । आएको बजेट खर्च प्रक्रिया पनि झन्झिटिलो भएकाले भएको बजेट खर्च नभई फ्रिज हुनेगरेको उहाँको भनाइ छ । मल खाद ल्याउँदा भारतको कलकत्ता बन्दरगाहबाट ल्याइने गरेको र त्यहाँको क्षमता नै ३ देखि साढे ३ लाख मेट्रिक टन मल दिनसक्ने मात्र क्षमता भएको उहाँले बताउनुभयो । नेपालमा कृषकलाई करिब ६ लाख मेट्रिक टन मलको खाँचो रहे पनि ३ देखि साढे तीन लाख मेट्रिक टन मल मात्र आयात हुने गरेको उहाँको भनाइ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै