सूचना टाँस गरेर बागमती प्रदेश सभा बैठक स्थगित – Nepalboli

सूचना टाँस गरेर बागमती प्रदेश सभा बैठक स्थगित

   ८ असार २०८१, शुक्रबार  

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको शुक्रबारको प्रदेश सभाको बैठक दोस्रो पटक पनि सूचना टाँस गरेर स्थगित गरेको हो । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बजेटका बारेमा दलहरुबिच सहमति नजुटेपछि दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सभाका सचिव कृष्णहरि खड्काले विशेष कारणबश ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सारिएको जनाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा त्रुटि रहेको भन्दै पुनर्लेखन नगरेसम्म प्रदेश सभा चल्न नदिने अडान लिएपछि प्रदेश सभाको बिहीबारको बैठक अवरुद्ध बनेको थियो ।बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिला गरी दिउँसो १ बजे सुरु भएकोमा कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख पाठकले कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामालाई बोल्न दिनुभयो ।

कांग्रेस नेता लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको बजेट लेखन तारतम्य नमिलेको र बजेट कार्यान्वयनमा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले आफैँले असन्तुलित र मर्यादा नाघेर ल्याएकाले बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो ।

कांग्रेसको अवरोधका कारण बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएपछि सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै