नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव आयोजना – Nepalboli

नेपालमा १० औं अन्तर्राष्ट्रिय योग दिवस उत्सव आयोजना

   ८ असार २०८१, शुक्रबार  

अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण नेपालमा विभिन्न तहमा मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा योग दिवसका कार्यक्रमहरु आयोजना गरेका थिए ।

यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने विषय (थिम) अनुरुप भारतीय राजदूतावासले मुख्य कार्यक्रम अगावै मिति २०८१ जेठ २५ गते काठमाडौंमा एउटा पूज्य पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र अर्को माइती नेपालका चेलीहरुका लागि व्याख्यानसहितको प्रदर्शन गरी दुईवटा कार्यक्रमको आयोजना गरेको थियो ।

मानव चेतना र प्रकृतिबीच योगको भूमिका एक सेतुको रुपमा रहेको भन्ने कुरालाई जोड दिदै काठमाडौंस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ५ गते पोखराको फेवा तालको किनारामा ४५० भन्दा बढी सहभागीहरुका लागि योग तथा ध्यान अभ्यासको आयोजना गऱ्यो ।

सोही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पुऱ्याउने फाइदाहरु उपर केन्द्रित हुँदै आयुर्वेद अभ्यासकर्ताहरुसँग मिलेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुका लागि दूतावासले योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्शको पनि आयोजना गऱ्यो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति तथा कैयौं वरिष्ठ प्राध्यापकहरुको समेत सहभागीता रहेको थियो ।

नेपालस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ६ गते पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गऱ्यो । ती स्थानहरु क्रमशः सराङ्कोट भ्यू पोइन्ट जहाँबाट अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छस पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक वातावरण र भव्य दृश्य एकैसाथ महसुस र देख्न पाइन्छ सर रमणीय अनदु डाँडामा अवस्थित शान्ति स्तुप रहेका थिए । योगका शारीरिक, मानसिक र आध्यात्मिक फाइदाबारे प्रकाश पार्दै अनुभवी योग प्रशिक्षकले सहभागीहरुलाई विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिएका थिए ।

भारतीय राजदूतावासले लुम्बिनी विकास कोष, लुम्बिनीमा मिति २०८१ असार ६ गते ९०० भन्दा बढी सहभागीहरुका लागि एक बृहत् योग प्रदर्शनको पनि आयोजना गऱ्यो । कार्यक्रममा लुम्बिनीका माननीय मुख्यमन्त्री श्री जोख बहादुर महरा लगायत अन्य प्रदेशीय नेताहरुको उपस्थिति रहेको थियो । लुम्बिनीका माननीय मुख्यमन्त्रीले भगवान बुद्धको जन्मस्थलमा महत्वपूर्ण योग कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभयोे । राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ, चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वमाथि जोड दिनुभयो ।

पोखरा महानगरपालिकासँग सहकार्य गर्दै मिति २०८१ असार ७ गते पोखरा रङ्गशालामा आयोजना गरेको एकदमै ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय राजदूतावासले सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको केन्द्रविन्दुमा रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्य र त्यस क्षेत्रका ५००० भन्दा बढी योगमा अभिरुचि राख्नेहरुले सहभागीता जनाएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्रीले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गर्नुभयो ।

वहाँले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपाल सरकारले समर्थन गरेको बताउनुभयो । वहाँले योग भारत र नेपालबीचको प्रगाढ र दिगो साँस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको कुरामा जोड दिनुभयो । राजदूत नवीन श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने र नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो । पोखरा महानगरपालिकाका मेयरले पोखरालाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्नका लागि पोखरामा यस्ता ठूला कार्यक्रम आयोजना गरी पहल लिन सहयोग गरेकोमा दूतावासलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँले अन्तर्राष्ट्रिय योग दिवस मनाउन हरेक वर्ष दूतावाससँग सहकार्य गर्न पोखरा तत्पर रहेको बताउनुभयो ।

भारतको महावाणिज्य दूतावासले पनि जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमको आयोजना गऱ्यो ।

अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करणलाई समापन गर्न भारतीय राजदूतावासले मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा मिति २०८१ असार ८ गते सुन्दर लमजुङ जिल्लामा योग प्रदर्शन कार्यक्रमको आयोजना गर्नेछ ।

भारत सरकारले अघि सारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेको थियो । “बितेको दशकमा जुन प्रस्तावको रुपमा संयुक्त राष्ट्रसंघको महासभाबाट सुरु भएको थियो त्यो स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने वैश्विक आन्दोलनमा परिणत भएको छ । योगलाई आज विश्वका सबै संस्कृति र सबै महादेशहरुले अपनाएका छन्,” नेपालका सम्माननीय प्रधानमन्त्रीसहित विश्व नेताहरुलाई सम्बोधन गरेको आफ्नो सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै