काँग्रेस सांसदद्वारा बागमती प्रदेश सभा बैठक अवरुद्ध – Nepalboli

काँग्रेस सांसदद्वारा बागमती प्रदेश सभा बैठक अवरुद्ध

   २०८१ असार ६, बिहीबार  

बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको नेपाली काँग्रेसको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ । आगामी आवको बजेटमाथि छलफल गर्न बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक झण्डै दुई घण्टा ढिलो गरी सुरु भएर स्थगित भएको हो । कांग्रेसले सरकारको बजेट र योजनामा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट प्रणाली उल्लङ्घन गरी बजेट ल्याएको भन्दै बजेटको बिरोध गरेको छ ।

प्रदेश सभाको बैठक सुरु भएलगत्तै काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको तारतम्य नमिलेको बताउँदै बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेट आर्थिक अनियमिततालाई प्रश्रय दिनेगरी छलकपट गरेर ल्याएको बताउँदै पहिले आफूहरुलाई पेनड्राइभमा दिएको बजेटको कार्यक्रमको विवरण र अहिले प्राप्त बजेट कार्यक्रम पुस्तिकामा फरक आएको बताउनुभयो ।

सुशासन प्रत्याभूति गर्नुपर्ने र नियमन गर्ने मन्त्रालयले मिचेर बजेट ल्याएको छ उहाँले भन्नुभयो, “यस्तो बजेटको बारेमा छलफल हुन सक्दैन ।” उहाँले बजेट पुनर्लेखन नभएसम्म छलफल अगाडि नबढ्ने बताएपछि कांग्रेसका प्रदेश सभा सदस्यहरु सभामुख अगाडिको रोष्टमनजिक पुगेर घेराउ र नाराबाजी गरेका थिए ।

सभामुख भुवनकुमार पाठकले प्रदेश सभा सदस्यलाई आ–आफ्नो ठाउँमा बस्न पटक–पटक आग्रह गरे पनि नमानेपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै