राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै – Nepalboli

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

   ६ असार २०८१, बुधबार  

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गर्नुभयो । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गर्नुभएको थियो ।

उहाँले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनी बिचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गर्नुभयो । यसै गरी उहाँको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार यहाँ एक विशेष स्वागत समारोह आयोजना गरेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सबै नेपालीलाई आव्हान गर्नुभयो । सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली सङ्घका तर्फबाट राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो

यसअघि स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गर्नुभयो । साथै वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपिल गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ । यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदार सरह व्यवहार गरियोस् ।”

स्वीट्जरल्याण्डमा रहँदा उहाँ र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच बर्नमा दुई देशको सम्बन्ध, आपसी सहयोग र सम्बन्ध विस्तारका पक्षमा केन्द्रित रहेर भेटवार्ता भएको थियो । यसै गरी राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भएको थियो । स्वीटजरल्याण्डमा रहँदा राष्ट्रपति पौडेलले त्यहाँको प्राचीन सहर पुरानो जेनेभाको भ्रमण गर्दै त्यहाँस्थित ऐतिहासिक स्थलको अवलोकन गर्नुभयो ।

त्यसै गरी उहाँ स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभएको थियो । सो क्रममा स्वीट्जरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते मङ्गलबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा प्रस्थान गर्नुभएको हो । राष्ट्रपति निर्वाचित भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै