कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै प्रहरीको नियन्त्रणमा, पक्राउ प्रतिशोधपूर्ण-महासंघ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साँझ कान्तिपुरको कार्यालय थापाथली पुगेर अध्यक्ष सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने बताउनुभएको छ। सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको र आफू पनि जेल गएको समेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
मिडियाको कार्यालयमै प्रहरी प्रवेश गरेर अध्यक्षलाई पक्राउ गरेको भन्दै मिडिया संम्वद्ध व्यक्तिको समेत त्यहाँ बाक्लो उपस्थिति थियो।
पक्राउ प्रतिशोधपूर्ण -पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ। महासंघका महासचिव रोसन पुरीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिइएको बताउनुभएको छ।
सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्ने गरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरुले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ।’’
कानुन अनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहने तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग स्वीकार नहुने महासंघले जनाएको छ।