बाँकेमा २८ हजार बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप – Nepalboli

बाँकेमा २८ हजार बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप

   २०८१ जेष्ठ ३, बिहीबार  

बाँके जिल्लामा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले सो खोप अभियान सञ्चालन गर्नुअघि त्यसको तयारीका लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लगायतलाई सो बारेमा अभिमुखिकरण गरेको छ ।

खोप फोकल पर्सन श्रेष्ठका अनुसार पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ आईपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । उहाँका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई उक्त खोप दिइनेछ । अभिमुखिकरणमा डब्लुएचओमा कार्यरत सरला न्यौपाने, युनिसेफका शिव सुवेदी र प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रका हरि आचार्यले प्रस्तुतीकरण गर्नुभएको थियो ।

आईपिभी खोप अभियानमार्फत बाँकेमा २८ हजार २५१ जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशमा २ लाख ५३ हजार ७९ जनालाई खोप दिने लक्ष्य राखिएको जनाउँदै नेपालभर १४ लाख ६२ हजार ७१२ जनालाई खोप दिने लक्ष्य निर्धारण गरिएको बताउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै