सरकारको नीति तथा कार्यक्रमबारे एमाले संसदीय दलमा छलफल – Nepalboli

सरकारको नीति तथा कार्यक्रमबारे एमाले संसदीय दलमा छलफल

   २०८१ जेष्ठ २, बुधबार  

नेकपा (एमाले) संसदीय दलको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा सरकारले मङ्गलवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रमउपर सांसदहरूले दिने सुझावको सम्बन्धमा छलफल भएको बताए । उनले नीति तथा कार्यक्रममा सुझावहरूलाई समेट्दा व्यवस्थित हुने भएकाले सोही विषयमा छलफल भएको बताए । उनले संसदीय दलले कांग्रेसले संसद् अवरोधको शृङ्खलालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बन्धमा बोलेको उनले जानकारी दिए । त्यसैगरी नीति तथा कार्यक्रमकै सन्दर्भमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले पनि धारणा राखेको बर्तौलाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै