कोशीकी सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपा
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट कोशी प्रदेश सभामा निर्वाचित भएकी एक मात्र सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजेकी छिन् । लिम्बूले मंगलबार जसपाको पक्षमा सनाखत गरेकी हुन् । जसपा नेपाल विभाजन भएपछि निर्वाचन आयोगले सनाखतका लागि समय दिएको छ ।
यसअघि लुम्बिनी प्रदेशका तीनमध्ये दुई सांसदले पनि राई नेतृत्वको जसपा रोजिसकेका छन् ।
गत वैशाख २३ गते राई नेतृत्वको समूहले जसपा नेपाल विभाजन गरी जसपा गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । उनीहरूले २४ गते नै दल दर्ताको प्रमाणपत्र पाएका थिए ।
जसपा विभाजन अवैधानिक भएको भन्दै उपेन्द्र यादव पक्षले भने सोमबार मात्रै निर्वाचन आयोगमा रिट निवदेन दर्ता गरेको छ ।