सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि पनि पटकपटक विश्वासको मत लिने भनेर तम्सिएका मुख्यमन्त्री सोडारी सत्ता साझेदार दलहरूले अटेर गरेपछि रोकिएका थिए ।
नेकपा (एमाले) ले मुख्यमन्त्री सोडारीले हतार गरेको भन्दै तत्कालै विश्वासको मत नदिने अडान लिएको थियो । त्यसपछि मुख्यमन्त्री सोडारी रोकिएको थिए । मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, नेकपा (माओवादी), रञ्जिता श्रेष्ठ पक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
उनको दाबी असंवैधानिक भन्दै रेशम चौधरी पक्षीयका सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।