प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल, संसदीय समिति बनाउन प्रधानमन्त्री साकारात्मक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमति प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका थिए । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् । यही कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएको उनको सचिवालयले जनाएको छ ।छलफल पछि काग्रेस नेताहरुले सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सकारात्मक छलफल भएको नेपाली जनाएको छ । छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका छन ।
छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ ।’
भोलि दिउँसो १ बजे संसदीय कार्यसमितिको बैठक र २ बजे संसदीय दलको बैठक राखिएको जानकारी दिँदै नेता लेखकले ती बैठकबाट निर्णय गर्ने बताए ।