आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै – Nepalboli

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

   २०८१ बैशाख २८, शुक्रबार  

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । महादेव र पार्वतीको विवाह भएको दिनका रुपमा पनि अक्षय तृतीयालाई लिने गरिन्छ । अक्षय भनेको कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ । यस तिथिमा गरेका कर्महरुको फल नाश नभइ दिगो रुपमा प्राप्त हुने भएकाले यस तिथिलाई अक्षय तृतीया भन्ने गरिन्छ । यो युग आरम्भ हुने तिथि पनि हो ।

महाभारतको लडाईंसँगै द्वापर युग सकिएको दिनका रुपमा पनि यस दिनको सम्झना गरिन्छ । सत्य र त्रेता युगको आदि दिवस अर्थात् प्रारम्भ दिवसको रुपमा पनि यस दिनलाई लिने गरिन्छ । भगवान श्रीविष्णुले नरनारायण, हयग्रीव तथा परशुरामको अवतारसमेत यसै दिन लिएको शास्त्रमा वर्णन गरेको पाइन्छ ।

भगवान विष्णुको चरणबाट महादेवको मस्तक हुँदै गंगा धरतीमा आएको दिनका रुपमा पनि आजको दिनलाई लिने गरिन्छ । वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको मानिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा पनि आजको दिनलाई मनाउने प्रचलन छ ।

आजको दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ । ज्योतिष शास्त्रकाअनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन पञ्चाङ्ग नहेरी पनि कुनैपनि शुभकार्य गर्न सकिन्छ । आज पशुपतिनाथसहित भक्तपुरको डोलेश्वर महादेव मन्दिर लगायतका विभिन्न शिवालयहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

यस पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दु विश्वासले आज हिन्दु मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । यस पर्वमा सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै